– डम्बर थामी ‘अनुपम’
” जीवन फूलको कालिन मात्र होइन, संघर्ष पनि हो । जीवन वसन्त मात्र होइन तुसारे शिशिर पनि हो ।” यी हरफहरु म दस कक्षामा पढ्दा ‘ घनघस्याको उकालो काट्दा ‘ शिर्षक दिईएको डा. तारानाथ शर्माको नियात्रामा पढेको थिएँ । साँच्चै नै मान्छेको जीवनमा यी द्वन्दात्मक टकरावहरुले प्रभाव पार्दोरहेछ । म जनमुक्ति अभियानमा लागेको एक महिना एघार दिन मात्र भएको थियो । हामी त्यतिबेला शोषित पीडित बस्तीहरुमा नै विचरण गरिरहेका थियौँ । जनमनलाई समेट्न संगठन र सेल्टर बनाउँदै हिंड्थ्यौँ । त्यतिबेलाको कार्वाही अलि फरक थियो । आर्थिक कार्वाही, हतियार संकलन, सेबोटेज आदि। अनि छापामार कार्वाहीहरुलाई पनि व्यवस्थित गर्नु थियो । युद्ध प्रविधिको पनि विकास गर्नुपर्ने थियो । त्यस्तै प्रकारको छापामार कार्वाही गर्ने क्रममा क. विश्वको कमान्डमा गुमुखोला बजार कब्जा गरेर प्रचारात्मक कार्वाही गर्यौं । र त्यहाँका फटाहाहरुलाई केही आर्थिक कार्वाही पनि गर्यौँ । जनयुद्धको सुराकी गर्नेहरुलाई केही चेतावनी पनि दियौँ ।
त्यसपछि हामी उत्तरी भेग झ्याँकु, सुरी, चंखुतिर लाग्यौँ । हाम्रो त्यतिबेलाको संगठन मरुभूमिमा पानी उमारेर बिरुवा हुर्काउनु जस्तै थियो । जनतालाई माओवादीहरु कस्ता होलान् ? भन्ने कुरा पनि थाहा थिएन । त्यसैले हामीले त्यो भेगमा गएर जनताको बीचमा धेरै धेरै क्रान्ति र माओवादी जनयुद्धको बारेमा भलाकुसारी गर्यौं । शिक्षक, विद्यार्थी र बुद्धिजीवीहरुको बीचमा पनि क्रान्तिका कुराहरू गर्यौँ । मैले धेरै हाईस्कूलहरुमा भाषण पनि गरेँ । हामीले प्रचारप्रसार र भित्तेलेखन पनि व्यापक गर्यौँ । हाम्रो त्यो गतिविधिको पुलिस प्रशासनले निकै निगरानी बढाईरहेको रहेछ । हाम्रो नफ्री र नेतृत्वको बारेमा पनि निगरानी गरिरहेको रहेछ । उसले हामीलाई तत्कालै बाँसको तामा मर्काए झैँ मर्काएर निमिट्यान्न पार्न चाहन्थ्यो । त्यो कोशिश जारी रहेछ ।
प्रचारात्मक र संगठनात्मक कामहरू गर्दै हामी जुँगुमा पुग्यौँ । त्यहाँ पुग्दा त एक्कासी पुलिस आएको खबर पायौँ । पूरै गाउँ नै घेरा हालेको भन्ने फेरि अर्को खबर आयो । जुँगुका जनताले पुलिसको गतिविधिको खबर चाहिँ छिनछिनको ल्याउँदा रहेछन् । मेरो मनमा पनि कुरा खेल्यो अब कसरी प्रतिरोध गर्ने र घेरा तोड्ने भनेर । हतियारको नाममा एउटा सिरुपाते खुकुरी मात्र थियो । मैले जनयुद्धमा लाग्ने बित्तिकै गुरिल्ला तालीम गर्न पाउँछु । आधुनिक हतियार चलाउन पाउँछु भन्ने लागेको थियो । तालीम त बाह्र घन्टासम्म दिसा पिसाब रोकेर सेल्टरमा खोक्दा पनि नखोकी लुक्नुपर्ने । चूक घोप्ट्याए जस्तो अँध्यारी रातमा खुट्टा नबजाई हिंड्ने र दिउँसोभरि सुत्ने । फुर्सदको बेला जनताको खेतबारीमा काम गर्ने । त्यस्तो पो रहेछ गुरिल्ला तालीम त । तर हिम्मत चाहिँ हार्नु हुन्न भन्ने कुरा सानैदेखि सिकेको थिएँ । पूराना कम्युनिस्ट नेता र बुबा आमाबाट । मैले अन्तिम अस्त्र यसैलाई प्रयोग गर्ने प्रण गरेँ । क. माओको एउटा वाणीले मलाई अझ मुर्झाउने बनायो । “यदि तिमीलाई आवस्यकता परेको बेलामा तिम्रा अगाडिका सबै वस्तुहरु हतियार हुनेछन् ।” अनि दाह्रा किटें र जे पर्ला त्यत्तिकै त मर्दिन ठानेँ । दह्रो गरी खुकुरी समातेँ । पुलिसहरुले घेरा साँघुरो पार्दै आएको खबर आईरहेकै थियो । विस्तारै विस्तारै घाम पनि पश्चिम दिशातिर डुबिसकेको थियो । साथीहरू घेरा तोडने योजना बनाउँदै थिए । दुश्मनको कमजोर घेरा भएको ठाउँबाट घेरा तोड्नुपर्छ भन्ने निष्कर्ष निस्क्यो । सोही मुताविक हामी भयानक भीरको छेउबाट ओराली लाग्यौं । र एउटा बस्तीमा पुग्यौँ । त्यो बस्तीको नाम उखुबारी रहेछ । त्यो बस्ती पनि पहिलेदेखि नै माओवादीलाई सहयोग गर्ने जनता भएको बस्ती रहेछ । दिउँसो कमरेड चेतना लगायत महिला कमरेडहरुले जुँगुमा डोको बोकेर जङ्गलमा घाँस काट्न जाने निहुँमा घेरा तोड्नुभएछ । मैले बल्ल थाहा पाएँ । युद्धकला भनेको यस्तो पो रहेछ । तर हामी अझै रनभुल्लमा नै परेका थियौं ।
झमक्कै रात परिसकेको थियो । त्यो अन्धकार रातमा हामीलाई उखुबारीका क. चुडामणि घिमिरेले रुट गाईड गरेर जङ्गलको बाटो हिँडाउन लागे । बाटोको केही नाम निशान थिएन । झाडी र बुट्यानहरु थिए । त्यही बुट्यानहरुमा समाउँदै छामछाम छुमछुम गर्दै तामाकोसी किनार भन्दा अलि माथीको बाटो लाग्यौं । तल तामाकोसी कलकल बग्दै थिइन् । यदि केही गरी लडियो भने हामी पनि तामाकोसीको सुसाईसँगै बग्नुपर्थ्यो । कहिँ छङ्गाछूर भीरहरु भेटिन्थे । रात सुलुलुलु चिप्लिरहेको थियो । हामीले घेरा तोड्ने ठाउँ त्यही गुमुखोला नजिकबाट थियो । त्यहाँ एउटा झोलुङ्गे पूल तर्नुपर्थ्यो । करिब करिब उज्यालो हुन लागेको थियो । हतार हतार पूल क्रस गर्न लाग्दा करिब एक सय मिटर नजिक त पुलिस आईसकेको थियो । हामी सबैले हतार हतार पूल क्रस गर्यौं । र एउटा सानो झाडीमा एकै ठाउँ पोको परेर लुक्यौँ । पुलिसहरु काँधमा राईफल बोकेर हाम्रै अगाडिबाट गए । ल अब बल्ल बाँचियो भन्ने भयो । यदि त्यो पूल तर्न एक मिनेट मात्रै ढिला भएको भए सायद हामी सबै सकिन्थ्यौँ होला । त्यसपछि फेरि हामी बन्चरेको उकालो लाग्यौँ । लाल बहादुर थामी दाइको घरमा सेल्टर लियौं । हाम्रो आमा र ठूली आमा पनि जुँगु जानलाई आउनु भएको रहेछ । भेट भयो । आमालाई भेट्दा सारा संसार ब्रह्माण्ड नै भेटे जस्तो लाग्यो । पुलिसको व्यापक दमन र अप्रेसन भएकोले वहाँहरु जुँगु जान सक्नुभएन । वहाँहरु घर फर्किनु भयो । हामी पनि आफ्नो बाटो लाग्यौँ ।
हामीले घेरा तोडेकै दिन पारिपट्टी जुँगुमा देवी खड्का, देवी दुलाल, बखानसिंह थामी, नरेन्द्र थामी, ठिल बहादुर थामी र पेमा लामा लगायतका कमरेडहरु गिरफ्तार पर्नुभएछ । हामीले पनि सावधानीपूर्वक घेरा नतोडेको भए के हुन्थ्यो ? थाहा थिएन । न छापामार कला, न मोर्चाबन्दी युद्धको ज्ञान ! यी सबै कुरा थाहा नभए पनि युद्धले युद्धकला सिकाउँदो रहेछ । युद्धमा एक सेकेन्डको पनि महत्त्व हुन्छ भन्ने कुरा घाम झैं छर्लङ्ग भयो । हामी यी र यस्तै कैयौं दुश्मनका घेराबन्दीहरु तोड्दै गयौँ । ठूल्ठूला भिडन्त र मोर्चाहरु लड्दै गयौँ । मै हुँ भन्ने दुश्मनलाई पनि जितेरै छाड्यौँ । हजारौं हजार युद्ध सामग्री र हतियारहरु कब्जा गर्यौं । क्रान्तिकारीहरुमा अदम्य साहस बुद्धि र विवेक भएपछि जस्तोसुकै बाधा, व्यवधान र चुनौतीहरुको सामना गर्न सकिने रहेछ । यो मैले क्रान्तिमा लागेको दुई महिना पनि बित्न नपाउँदै गरेको अनुभूति हो ।
२०५४ साल फाल्गुन १० गते सिन्धुपाल्चोक मांखा ।